इच्छाकामनामा स्थानीय उत्पादन बाह्य बिक्री करको नाममा प्रहरीको आँखै अगाडी अवैध असुली

उजुरी गर्दा झन चौब्बरसम्म रकम असुली

मुग्लिन, १९ माघ
चितवनको इच्छाकामना गाउँपालिकामा स्थानीय उत्पादन बाह्य बिक्री करको नाममा अवैध रुपमा रकम असुली भएको छ ।
गाउँपालिकाले इच्छाकामना गाउँपालिकामा उत्पादन भएका ढुङ्गा, गिटी बालुवा, इट्टा, कटिङ ढुङ्गा, माटो फलफुल, तरकारी तथा बनजन्य खयर, काठ, दाउरा, गोलिया, जडिबुटि, हाड, सिङ छाला, चौपाया, दौपाया लगायत अन्य शीर्षकमा यसै आर्थिक वर्षदेखि कर उठाउन थालिएको थियो । उक्त शीर्षकमा कर उठाउनका लागि आश्ना कन्सट्रक्सनलाई जिम्मेवारी दिएको छ । कर उठाउने जिम्मेवारी पाएको आश्ना कन्सट्रक्सनले नारायणगढतर्फ रिग्दिखोलामा, काठमाण्डौ तर्फ फिस्लिङमा र पोखरातर्फ मुग्लिन पुलजीपमा ढाँट राखेर कर असुली गरिरहेको छ । तर इच्छाकामनाको उत्पादन नभै बाहिरबाट ल्याईएको कृषिजन्य सामाग्रीमा पनि अनधिकृत रुपमा कर उठाएको व्यवसायीहरुले आरोप लगाएका छन् ।
यस विषयमा सम्बन्धित गाउँपालिका जिल्ला प्रशासन कार्यालयमा जानकारी सहित ज्ञापन पत्र बुझाउदा समेत सम्बन्धित निकायबाट सुनुवाई नभएको राष्ट्रिय फलफुल तथा तरकारी बिक्री संघ कास्कीका कार्यसमिति सदस्य दुर्गा कडेंलले जानकारी दिए । यतिमात्रै नभै प्रहरीमा उजुरी दिदाँ समेत कुनै कारवाही नभएको कडेलले बताए । उजुरी गरेको थाहा पाएपछि झन बढि कर असुली गर्न थालेको उनले बताए । ‘म पोखरा भए पनि इच्छाकामनाको स्थानीय भएकोले मैले थाहा पाए मैले थाहा नपाएका अरु कति रकम अवैध असुली भएको होला खोज्ने कस्ले ? कडेंलले भने ।
उनले इच्छाकामनामा अवैध कर असुली भैरहेको भन्दै आईतबार मात्र आधा दर्जन भन्दा बढि रसिदको फोटो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । जस अनुसार कडेंलले भने झै अघिल्लो दिन कृषिजन्य शीर्षकमा प्रति टिप १०० रुपैयाँ शुल्क लिएकोमा उजुरी पछि पछिल्लो दिन प्रति टिप २००, त्यसको दुई दिन पछि प्रति टिप २५० र त्यसपछि झन ४५० सम्म अवैध रुपमा कर असुली गरेको देखिन्छ ।
गाउँपालिका अध्यक्ष गिता कुमारी गुरुङले अब त्यसरी कर नउठाइने भनेर बारम्बार आश्वासन दिए पनि कर संकलकले विभिन्न बाहनामा बखेडा झिकेर दादागिरी शैलीमा कर लिने गरेको गरेको र प्रमाण नै अध्यक्ष लाई पेश गर्दा समेत सुनुवाइ नभएको उहाँको आरोप छ।
बाहिर बाट आएको सामाग्रीमा पनि इच्छाकामना गाउँपालिकाले कर उठाएको बारे अध्यक्ष गिता कुमारी गुरुङ संग कुरा गर्दा उहाँले केही समय पहिले स्थानीय उत्पादित बस्तुहरु पनि झुक्याएर बाहिरको भनेर कर नतिर्दा कर संकलकले बाहिरको सामाग्रीमा पनि कर लिएका
तर अहिले अनुगमन पश्चात बाहिरको हो भनी आवश्यक प्रमाण र कागजपत्र भए कसै संग कर नउठाएको र उठाएको भए तत्काल कर संकलकलाई कार्वाही गर्ने बताउनु भएको छ।
अध्यक्ष गुरुङले यसो भने पनि इच्छाकामना गाउँपालिकामा उत्पादन नै नभएको माछाको समेत प्रतिटिप ४५० रुपैयाँ अवैध कर असुली गरेको रसिद कडेलले उपलब्ध गराएको छ । जुन रसिद हिजो माघ १८ गते शनिबार काटिएको हो ।
यता अवैध रुपमा कर असुली गरिरहेको भनेको ढाँड इलाका प्रहरी कार्यालय मुग्लिनको नाकै अगाडी छ भने पनि हुन्छ । उक्त ढाँड र प्रहरी कार्यालय मुग्लिनको दुरी मुस्किलले २ सय मिटर होला । तर यस विषयमा प्रहरीमा उजुरी दिएको भने पनि प्रहरी मुक दर्शक बनेको देखिन्छ । यस विषयमा प्रहरीसँग कुराकानी गर्दा अवैध असुली भएको भेटिए कानुन अनुसार कारवाही हुने प्रहरी निरिक्षक कञ्चन लामाले बताए ।