योगः एक उन्मुक्त जीवनशैली

अनिल श्रेष्ठ

 

A supreme soul is the source of light.
And the meditation !
That is the way toward the light.

योग आजकल मानिसहरुका लागि अनिवार्य जस्तै बनिसकेको छ । हिजोआज मानिसका दिनचर्याहरु जति जटिल बन्दै गइरहेका छन् योगको आवश्यकता र अनिवार्यता पनि उत्तिकै बढ्दै गइरहेको छ । बजारमा योगको व्यापार गर्नेहरु पनि अहिले उत्तिकै बढेको देखिन्छ । तर योगको सही अभ्यास के हो उनीहरुले बुझिरहेका हुँदैनन् ।

जबसम्म मान्छेले योगलाई बुझ्दैनन्, उनीहरुले अध्यात्मलाई पनि बुझ्दैनन् । मान्छेले कतिसम्म मात्र बुझेका छन् भने अध्यात्म भनेको धर्म हो । र, धर्म भनेको ईश्वर या भगवानलाई पुज्नु हो । उनीहरुले धर्म र अध्यात्मलाई एउटै देख्छन् । तर अध्यात्म भनेको मान्छेको चेतना शक्ति र ऊर्जाको ज्ञान हो भन्ने चाहिँ उनीहरु बुझ्दैनन् । ज्ञान भनेको सत्यको बोध गर्नु हो । अध्यात्मले सत्यको बोध गर्न सिकाउँछ । जसले वेद पढ्यो उनीहरुले योग र अध्यात्मलाई बुझेनन् । धर्मले वेद पढायो र विभेद सिकायो । जसले वेद पढे र वेदज्ञ बने तिनै वेदज्ञहरुले धर्मगुरु बनेर समाजमा शासनका असमान नीतिहरु निर्माण गरे । धर्मले नै अध्यात्मको गलत व्याख्या र परिभाषा सुरु ग¥यो र सबै धर्महरु शोषणका रुपहरु बने । अध्यात्म स्वतन्त्र जीवनको खोजी हो । अनिश्वरको खोजी हो । अध्यात्मले धर्मले खडा गरेको ईश्वरको बन्धनको विरोध गर्छ र स्वतन्त्र बन्न सिकाउँछ । अध्यात्म मन र शरीरको विज्ञान हो । मन र शरीरबीचको सम्बन्धको अध्ययन पनि हो ।

योगले मानिसलाई स्वतन्त्र भएर बाँच्न सिकाउँछ । एउटा योगी कसैको दास बन्न सक्दैन । ऊ सधैं योगले युक्त र ज्ञानले पूर्ण भएर बाँच्छ । ऊसँग एउटै सत्य रहन्छ कि ऊ यो जीवनमा सधैं स्वतन्त्र छ र कुनै बन्धनहरुले उसलाई बाँध्न सक्दैन । तर हामीमा अझै योग र अध्यात्मप्रतिको धारणा र मानसिकता गलत छ । योगी भन्ने बित्तिकै हामी एउटा अलग वस्त्रधारी मान्छेको परिचय खोजिहाल्छौं, जो अपठित छ, अज्ञान छ, विज्ञानलाई बुझ्दैन र ऊ यो संसारबाट बेसरोकार छ ।

एउटा पहाडको सिरानबाट उदाउँदै वा डुब्दै गरेको घामको दृश्य हेर्दा जति सुन्दर र मनमोहक देखिन्छ, समुद्रको किनारबाट उभिएर त्यो सूर्योदय वा सूर्यास्तको दृश्य हेर्दा उत्तिकै सुन्दर, रमाइलो, मनमोहक र आनन्दको लाग्छ । कहिलेकाहीँ वस्तुलाई एक झलक हेरेर हामी त्यसको पूर्णतामा वस्तुको मूल्याङ्कन गरिदिन्छौं । हाम्रो दृष्टि एकपक्षीय बनिदिन्छ । यस्तो मूल्याङ्कनले वस्तुको यथार्थलाई छोपिदिन्छ । वस्तुको गतिलाई देख्दैनौं । यसले वस्तुको जीवनलाई मारिदिन्छ ।

अहिले त योगलाई नबुझ्नेहरु योगी छन् । र, दुनियालाई तिनीहरु नै योग सिकाइरहेका छन् । योगलाई व्यापार बनाइरहेका छन् र वस्तुको रुपमा बजारीकरण गरिरहेका छन् । माकुराले झैं तिनीहरु योगलाई बजारको जालोले जेलिरहेका छन् । त्यही बजारले हाम्रा खुशीहरु खोसिदिएका छन् । योग र अध्यात्मको अर्थहरु भ्रष्टीकरण गरिदिएका छन् ।

योग एक कला हो । योग एक जीवनशैली पनि हो, जहाँ मन र शरीर दुवैको सधैं सन्तुलन हुन्छ । विचारहरु व्यवस्थित हुन्छन् । योगयुक्त जीवन सधैं खुशीले उन्मुक्त हुन्छ, आच्छादित हुन्छ, आह्लादित हुन्छ । हामीलाई लाग्छ, कुनै आसन बाँधेर बस्नु, पद्मासनमा बस्नु, प्राणायाम गर्नु वा कुनै मौन मुद्रामा रहनु योग हो । भलै यी धारणाहरु पूर्णत गलत छन् भन्न सकिन्न ।

योग एक अभ्यास भएकोले कसैले यसलाई चरणबद्ध अभ्यासका रुपमा पनि लिन्छन् र सुरुका बसाइका यी अवस्थाहरुले हामीलाई योगमा रहन मद्दत पनि गर्छ । तर योगको वास्तविक अर्थलाई नबुझी आजकल जताततै योगको नाममा गरिने ‘योगा’ को भ्रम र योगको सम्बन्धमा रहेका यस्ता धारणाबाट हामी मुक्त हुनु जरुरी छ । हामी हिँड्दाहिँड्दै पनि योगमा रहन सक्छौं । खाना खाइरहँदा पनि योगमा रहन सक्छौं । पढ्दा योगमा रहन सक्छौं । कतै यात्रा गर्दागर्दै पनि योगमा रहन सक्छौं । योगका लागि कुनै निश्चित समय छुट्याउनु पर्दैन । योग निर्बन्ध छ । हठयोगीहरु शरीरको व्यायाम मात्र सिकाउन सक्छन्, योग सिकाउन सक्दैनन् ।

योग एक व्यायाम हो, मनको व्यायाम । योगको सम्बन्ध मनसँग हुन्छ । तर धेरैले यसलाई शरीरको व्यायाम मान्छन् । शरीरजस्तै मन पनि स्वस्थ र अस्वस्थ हुन्छ । स्वस्थ विचारले मन स्वस्थ रहन्छ र अस्वस्थ विचारले मन अस्वस्थ रहन्छ । योग भनेको मनमा उत्पन्न विचारहरुलाई सही किसिमले व्यवस्थापन गर्नु र सहज जीवनशैली बाँच्नु हो । कहिलेकाहीँ विचारलाई सही किसिमले व्यवस्थापन गर्न नसक्दा विचारहरु अस्वस्थ बनिदिन्छन् र त्यही अस्वस्थ विचारहरुले हामीभित्र दुःख, पीडा र छटपटी ल्याउँछ । जबसम्म विचारहरु अस्वस्थ बनिरहन्छन्, त्यहीँबाट जन्मन्छन् लोभ, मोह, ईष्र्या, घृणा, अहङ्कार । लोभले जन्मन्छ असिमित इच्छा र असन्तुष्टि, मोहले जन्मन्छ बन्धन, ईष्र्याले जन्मन्छ द्वेष, घृणाले जन्मन्छ उँचनिच, अहङ््कारले जन्मन्छ घमण्ड र देहको अभिमान । र, त्यहीँबाट मान्छेहरुबीच द्वन्द्व शुरु हुन्छ । यी सबै मनले जन्माउने विकारहरु हुन् । र, तिनै विकारहरुले ल्याउने नकारात्मक परिणति हो, हिँसा र युद्ध । योगले मनको विकारहरुबाट मानिसलाई मुक्त गर्छ । योग मनको शुद्धिकरण हो, अव्यवस्थित विचारहरुको व्यवस्थितता हो जसले मनको अधीरतालाई हटाउँछ र आत्मिक सुखलाई बढाउँछ । योग सकारात्मक विचारहरुको निर्माण हो ।

योग स्वंयलाई खोज्ने अभ्यास हो । योग दैहिक र आत्मिक ज्ञानको अभ्यास पनि हो । हरेक मानिस आफ्नो जीवनमा स्थायी सुख र शान्तिको खोजी गरिरहेका हुन्छन् । उनीहरु सुख प्राप्तिका लागि भौतिक साधनहरुले सुविधासम्पन्न हुन चाहन्छन् । तर जति उनीहरुका सुबिधाहरु बढ्दै गइरहेका हुन्छन्, उनीहरुका असिमितताहरु बढिरहेका हुन्छन् । मानिसका चाहनाहरु, आवश्यकताहरु र भौतिक वस्तुसँगको आकर्षणले नै उनीहरुलाई दुःखतिर धकेलिरहेको छ । आज मानिस सबैभन्दा बढी दुखित छ । तनावमा छ । मनमा व्यग्रता छ, चिन्ता छ, छटपटी छ । मानिससँग मानिसको प्रतिस्पर्धा छ । मानिस स्वंय दुःखका कारण बनिरहेछ । र, ऊ अरुलाई सोधिरहेछ, ‘म किन दुःखी छु । मलाई मात्र किन यो दुःख छ ।’ आज प्रत्येकसँग यो प्रश्न छ । र, यही एउटै प्रश्न बोकेर मानिस बाँचिरहेका छन् ।
कहिलेकाहीँ सामान्य अर्थहरुले पनि ठूलो महत्त्व राख्छ । बोलीचालीमा आउने सामान्य शब्दहरु पनि लाक्षणिक अर्थहरु बोकेर आउँछन् । एकदिन मेरो छिमेकी घरको एकजना दाइ फूलहरु गोड्दै हुनुहुन्थ्यो । उहाँ फूलहरुको निकै सौखिन हुनुहुन्छ । अलिकति खाली जमिन रहेसम्म उहाँ कतैबाट फूल ल्याएर सारिहाल्नु हुन्थ्यो । निकै राम्रा राम्रा फूलहरु फुल्थे उहाँको घरमा । बिहानको पहारिलो घाममा उहाँ फूलका हाँगाहरु छिमल्दै हुनुहुन्थ्यो ।

‘किन यसरी हाँगाहरु भाँचिदिनु भएको दाइ ?’ मैले सोधें उहाँलाई

उहाँले भन्नुभयो, ‘अर्कोपटक राम्रोसँग फूलहरु फुल्न पुराना हाँगाहरु छिमलिरहनु पर्छ भाइ ।’

दाइको यो कुरोले मनमा घत पु¥यायो । निकै अर्थपूर्ण भएर उहाँका ती शब्दहरु मेरो मस्तिष्कमा खेलिरहे । सायद फूलसँग रमाउने मान्छेहरु अल्लि सिर्जनशील हुन्छन् क्यार । अल्लि बढी सौन्दर्य बोधि र नवीन चेतना बोधि ।

फेरि एकछिन यसो गमें– हो त, फूलहरुलाई गोडमेल गरिरहनु पर्छ । त्यसका पुराना हाँगाहरुलाई छिमलिरहनु पर्छ । फूलहरुजस्तै हुन् विचार पनि । विचारहरु पनि उम्रन्छन्, हुर्कन्छन् । फूलहरुलाई जस्तै विचारहरुलाई पनि गोडमेल गरिरहनु पर्छ । छिमलिरहनु पर्छ । विचारहरु पनि पुरातन हुन्छन् । जबसम्म पुरातन विचारहरु रहन्छन्, नयाँ विचारहरुले पाउलिन सक्दैन । हामी सधैं नयाँको माग गरिरहेका हुन्छौं । तर पुराना छाड्न पनि सक्दैनौं । योग विचारहरुको गोडमेल हो । योग नवीनताको सिर्जना हो । योग जीवनमा निश्चिन्त, निर्भय र निर्विध्न भएर उन्मुक्तिमा बाँच्न सिकाउने एउटा कला हो । योग सौन्दर्य हो । सामथ्र्य र शक्ति हो ।

भखैरै मैले आफ्नो फेसबुक वालमा कसैले शेयर गरेको एउटा छोटो मोबाइल पिक्चरलाई हेर्दै थिएँ । चिडियाघरबाट ल्याएको एउटा बूढो उमेरको गिद्धलाई केही वातावरण संरक्षणविद्हरुले खुल्ला ठाउँमा लगेर छाडिदिए । गिद्ध आफ्नो पखेटा फटफटाउँथ्यो र उड्न खोज्थ्यो । तर सक्दैनथ्यो । गिद्धले उड्नलाई निकै प्रयत्न ग¥यो । सकेन । त्यसको पखेटा कुँजिसकेको थियो । वर्षौदेखि उड्न छाडेको त्यसको पखेटाको शक्ति र सामथ्र्य कमजोर बनिसकेको थियो । निकैबेरको प्रयासले बल्ल त्यसले उडेर केही दुरी पार ग¥यो । यो एउटा दृष्टान्त थियो सायद । र, कतै हामी पनि त्यसै गरी सायद कुँजिरहेका छौं हाम्रो धर्मले, राजनीतिले, संस्कृतिले, परम्पराले, संस्कारले, अहम्ले ।

योग यी सबै बन्धनहरुबाट निर्बन्ध हुनु हो ।

लोगो की भीडमे ऐसा आदमी कहाँ
जिसके पास कुछ मिलने की उम्मीेद हो ।
तसलिमा नसरीन
…..