पर्यटन भ्रमण वर्षको आकर्षक गन्तव्य छिम्केश्वरी

आँबुखैरेनी, २९ पुस
अहिले नेपालमा पर्यटन भ्रमण वर्ष २०२० को सुरुवात भएको छ। ऐतिहासिक, प्राकृतिक, धार्मिक लगायत विविद्य पर्यटनले भरिपूर्ण देश हो नेपाल।
त्यसमा पनि नेपालको सबै भन्दा बढि आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने क्षेत्र हो गण्डकी प्रदेश। गण्डकी प्रदेशको पूर्वी प्रवेशद्वारमा रहेको छ आँबुखैरेनी गाउँपालिका। यहि आँबुखैरेनी गाउँपालिकामा पर्दछ छिम्केश्वरी माईको मन्दिर। यो ठाउँ पर्यटकिय हिसाबले अत्यन्तै सम्भावना बोकेको ठाउँ हो। यो स्थलको उचित प्रचार प्रसार गर्न सके नेपाल भ्रमण वर्षमा घुम्न चाहने आन्तरिक तथा बाह्य पर्यटकको लागि उत्कृष्ट गन्तव्य बन्न सक्छ।
छिम्केश्वरी माईको मन्दिर रहेको छिम्का लेक तनहुँको सबैभन्दा अग्लो भाग हो। यतिमात्र नभै मध्य पहाड अन्तर्गत महाभारतीय पर्वतीय श्रृब्खलाको सबैभन्दा अग्लो चुचुरो पनि हो। यो स्थल समुन्द्रि सतहबाट २ हजार १ सय ३४ मिटर उचाईमा छ। यहि डाडाँमा छिम्केश्वरी माईको मन्दिर छ। यो छिम्केश्वरी डाँडामा आउदा दुई माईहरुको दर्शन गर्न पाइन्छ। छिम्केश्वरी डाँडा छिम्केश्वरीमाई र बूढीकन्यादेवी माईको दर्शन गर्न सकिन्छ। सात देवीमध्ये जेठी बूढीकन्यादेवी माई र माहिली छिम्केश्वरीमाई एउटै डाँडामा बसेर बहिनीलाई हेर्ने गर्दछन् भन्ने किम्बदन्ती छ। साहिली गोरखकालीकामाई, काहिली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थानबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ। यी सातमध्ये ६ वटै देवीको दर्शन गरेता पनि छिम्केश्वरीमाईको दर्शन नगरेसम्म मनोकांक्षा पूरा नहुने धार्मिक विश्वास छ।
छिम्केश्वरी क्षेत्र पूरै पहाड तथा ग्रामीण परिवेशले भरिपूर्ण रहेको सुन्दर स्वच्छ प्राकृतिक एवं सांस्कृतिक स्थल हो। यस क्षेत्रमा संस्कृतिले भरिपूर्ण रामकोट, झारगाउँ, धरम्पानी, हिलेखर्क, लाब्दी, आक्लाङ भाँगे लगायतका गाउँहरु पर्दछन्। जहा गुरुङ, मगर, नेवार, क्षेत्री, ब्राम्हमण, दलित, अति सीमान्तकृत वर्ग चेपाङ र भुजेल जातिको बसोबास रहेको छ।
छिम्केश्वरीबाट दन्ते लहर देखाएर स्थान जमाएर बसेको हिमालहरुको एकैसाथ दृश्यावलोकन गर्न सकिन्छ। यस्तै यस स्थानबाट अपि, सैपालदेखि धौलागिरी, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमालदेखि पूर्वका गणेश हिमाल र लाबटाब हिमश्रृङ्खलाका सयौं चुचुराहरु सजिलै देख्न सकिन्छ। यो क्षेत्रमा आउदा जंगली पशुपन्छीको अवलोकन पनि गर्न सकिन्छ।
यस्तै यो ठाउँ जैविक विविधताले भरिपूर्ण पनि छ। छिम्कालेकमा पर्ने जङ्गलमा विभिन्न किसिमका पशुपन्छी, जीवजन्तु र औषधीय पदार्थ पाइन्छ। छिम्केश्वरी क्षेत्रमा पाइने यी जैविक विविधताको संरक्षण गर्न सके हिमालदेखि पहाडमा पाइने यी जैविकले पनि पर्यटकको आकर्षण वृद्धि गर्न सकिन्छ। यहाँ मृग, भालु, चितुवा, बँदेल, बाँदर, ढेडु, स्याल, मालसाप्रो लगायतका पशु र विभिन्न प्रजातिका गोहोरो,पुतली तथा किट्पतङ, तित्रा, कालिज जस्ता पशुपन्छी पाइन्छन् भने विभिन्न प्रजातिका गुराँस, निगाल, च्याउ, सुनगाभाका साथै टिमुर, पाँचऔले, चिराइतो, चिउरी, तितेपाती लगायतका जडीबुटी पाइन्छन्।
छिम्केश्वरी माईको दर्शन र छिम्कालेको भ्रमण गर्न आउनका लागि काठमाण्डौ पोखरा र चितवनबाट सहज रुपमा नै सार्वजनिक वा पर्यटकीय बस, माइक्रो, जीप तथा कारहरुबाट आँबुखैरेनी सम्म आउन सकिन्छ। आँबुखैरेनीबाट लाब्दीसम्म १५ किमि कच्ची सडकमा जीप यात्रा त्यसपछि करिव एक घण्टा पदयात्रा पछि छिम्केश्वरी सहजै पुग्न सकिन्छ। यस्तै डुम्रे बजार झरेर बन्दिपुर हुदै हिलेखर्कबाट पनि आउन सकिन्छ। पदयात्रा गर्न रुचाउनेहरुका लागि भने यस्तै सेहरुका लागि भने साराङघाट–छिम्केश्वरी, पुलजीप मुग्लिन–छिम्केश्वरी, मस्र्याङदी जलविद्युत पावरहाउस–छिम्केश्वरी, अन्नपूर्ण सिमेन्ट कारखाना–छिम्केश्वरी, लाब्दीखोला–छिम्केश्वरी रहेका छन्।
छिम्केश्वरी आउदाँ हिलेखर्क तथा लाब्दी गाउँमा होमस्टेको राम्रो व्यवस्था छ। होमस्टेमा बस्दा खानको लागि स्थानीय स्तरमा पाईने कोदो तथा फापरको ढिडो, रोटी, सेल रोटी, मकैको आँटो, लोकल मासु, गुन्द्रुक, भुटेको मकै र भटमास, कोदोको रक्सी, मह एवं स्थानीय कफी तथा तरकारीका साथै वन पैदावरहरु प्रशस्त पाइन्छन्। निउरो, गिठा, भ्याकुर, तरुल, सिप्लीगान लगायतलाई तरकारीको रुपमा खान पाइन्छ।
यी र यस्तै ग्रामिण परिवेशको अनुभव मनोरञ्जनको लागि नेपाल भ्रमण वर्ष २०२० मा घुम्न चाहने आन्तरिक र बाह्य पर्यटकको लागि छिम्केश्वरी आकर्षक गन्तव्य बन्न सक्छ।
आँबुखैरेनी सन्देश साप्ताहिकबाट