अन्ततः दुर्घटनामा परि गम्भिर घाईते आँबुखैरेनीको गरिमा सहकारीका व्यवस्थापक पोखरेलको निधन

आँबुखैरेनी, २९ पुस
मोटरसाईकल दुर्घटनामा परि गम्भिर घाईते भएका आँबुखैरेनीको गरिमा बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक सन्तोष पोखरेलको उपचारको क्रममा निधन भएको छ । पोखरेलको भरतपुरमा रहेको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान करिब ५ बजेतिर निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
मृतकको शव यतिबेला पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ र पोष्टमार्टम पश्चात आँबुखैरेनी स्थित रामशाहघाट दोभानमा आजै अन्तिम संस्कार गरिने तयारी भैरहेको भरतपुरबाट लायन्स क्लव अफ आँबुखैरेनीका अध्यक्ष गोविन्द अधिकारीले जानकारी दिनुभयो ।
यहि शनिबार राति मुग्लिनबाट आँबुखैरेनी तर्फ आउदै गरेको ग १ ख ५९०० नम्बरको ट्रकले विपरित दिशामा जादै गरेको पोखरेलले चलाएको बा ७८ प ३३१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको थियो ।
दुर्घटना परि गोरखा शहिद लखन गाउँपालिका ३ बनौतीका सन्तोष पोखरेल गम्भिर घाईते भएको थिए । घाईते भएका पोखरेलको चितवनमा रहेको भरतपुर (पुरानो) मेडिकल कलेजमा उपचार भैरहेको थियो।