अख्तियारको प्रतिवेदनः भ्रष्टाचारको दर स्थानीय तहमा बढ्दै

मङ्ल, पुस २९, २०७६
सबैभन्दा बढी भ्रष्टाचार हुने प्रदेशमा प्रदेश दुइ रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजो राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको २९ औँ वार्षिक प्रतिवेदनमा दुइ नम्बर प्रदेशमा २१ दशमलव ५० प्रतिशत भ्रष्टाचार तथा भ्रष्टाचारजन्य गतिविधि भएको पाइएको हो । यस्तै प्रदेश नं तीनमा पनि भ्रष्टाचार बढ्दै गएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले सीआइएनलाई जानकारी दिनुभयो । यस प्रदेशमा कूल २१ दशमलव १६ प्रतिशत उजुरीको संख्या रहेको उहाँले बताउनुभयो ।आर्थिक वर्ष २०७५÷७६ मा भौगोलिक आधारमा प्रदेश नं एकको आठ दशमलव ८४ प्रतिशत, गण्डकी प्रदेशको छ दशमलव शून्य सात प्रतिशत, प्रदेश नं पाँचको १० दशमलव ९३ प्रतिशत रहेको छ । सबैभन्दा कम कर्णाली प्रदेशको पाँच दशमलव २३ रहेको छ । त्यस्तै सुदूरपश्चिमको सात दशमलव चार शुन्य प्रतिशत रहेको छ । बाँकी रहेको १८ दशमलव ८५ प्रतिशत उजुरी गैरकानूनी सम्पत्ति आर्जन एवं नक्कली प्रमाणपत्रको रहेको आयोगले जनाएको हो ।