संवैधानिक पदमा बसेर बार्गेनिङ नगर्न उपसभामुख तुम्बाहाङ्फेलाई नेता गुरुङको आग्रह

काठमाडौं, २८ पुस
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले संवैधानिक पदमा बसेर बार्गेनिङ नगर्न उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई आग्रह गर्नुभएको छ । ढिलो चाँडो राजीनामा दिनुको विकल्प नभएको भन्दै गुरुङ्ले व्यक्तिका आकांक्षा पूरा गर्न सदन अवरुद्ध गर्न नहुने धारणा राख्नुभयो । आज काठमाण्डौंमा आयोजित कार्यक्रममा नेकपा प्रमुख सचेतक गुरुङले संवैधानिक पदमा बसेर बार्गेनिङ गर्ने नैतिकता कसैलाई पनि नहुने र कम्युनिष्ट पार्टीमा त झनै स्वीकार्य नहुने तर्क गर्नुभयो । संसदमा बहुमत भएको नाताले सभामुखमा नेकपाले उम्मेदवारी दिने नेता गुरुङले बताउनुभयो ।