चितवनमा उत्पादित ‘सुनकागती’ ले बजार पाएन, बारीमै कुहिन थाले

चितवन, २६ पुस

भारतीय कागतीको कारण नेपालमा उत्पादन भएका कागतीहरु बारीमै कुहिन थालेका छन् ।चितवनको बिभिन्न स्थानमा किसानहरुले लगाएको ‘सुन कागती’ बिक्री हुन सकेको छैन् । भारतबाट आयात हुने सोही सुन कागती भने नेपाली बजारमा बिक्री भइरहेको छ ।

चितवनका मुख्य बजारहरुमा कागतीको थोक बिक्रेताहरुले नेपाली कागतीलाई प्राथमिकता नदिएको कारण सोही एकै जातको कागती पनि बिक्री हुन नसकी बारीमा नै पहेलो भई कुहिन थालेको स्थानीय कृष्णप्रसाद दाहालले बताउनुभयो ।

चितवनका मुख्य बजार नारायणगढ र काठमाडौँमा पनि नेपाली कागतीले बजार पाउन सकेको छैन् । अधिकाँश कागतीका व्यापार गर्ने ठूला व्यापारीहरु भारतीय रहेको र उनीहरुले भारतबाट आयातित कागतीलाई मात्र प्राथमिकता दिँदा यहाँका किसान समस्यामा परेको उहाँले बताउनुभयो ।

चितवनमा कागतीको होलसेल बजार मूल्य करिव एक सय ५० रुपँैया प्रतिकिलो भएपनि नेपाली कागती ५०/६० रुपैँयामा पनि बिक्री हुन नसकेको उहाँको गुनासो छ ।स्थानीय किसानले उत्पादन गरेको कागतीले बजार नपाउँदा किसानहरुको लाखाँैको लगानी जोखिममा परेको कागती किसान सि.पी. अधिकारीले बताउनुभयो । उहाँले पूर्वी चितवनको कालिका र रत्ननगरमा करिव तीन बिगाहामा कागती खेती गर्दै आउनुभएको छ ।

कागती किसान दाहाल र अधिकारी प्रतिनिधि किसान मात्र हुनुहुन्छ। उहाँहरु जस्ता सयौँ किसानले लगाएको कागतीले बजार नपाई बारीमा नै ओइलाउन थालेको छ ।चितवनको ठिमुरा, जमुनापुर, खोलेसिमल र रत्ननगर क्षेत्रमा सहित करिव ३० बिगाहाभन्दा बढी क्षेत्रमा कागती खेती हुँदै आएको छ ।