उवासंघ चितवनको अध्यक्षमा शाक्य र वरिष्ठ उपाध्यक्षमा कँडेलको उम्मेद्वारी

चितवन, २४ पुस 

उद्योग वाणिज्य चितवनको आसन्न निर्वाचनको माहोल तातेको छ । केही दिनअघि दुईं उम्मेद्वारले गोलाप्रथाबाट आँपसी समझदारी गरेसंगै नयाँ अर्को प्यानल घोषणा भएको छ ।

पुराना व्यवसायी तथा उद्योग वाणिज्य संघ चितवनमा लामो समयसम्म योगदान पु¥याएका ज्ञानेन्द्रमान शाक्यको नेतृत्वमा प्यानल घोषणा गरिएको हो । सोही प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विष्णुप्रसाद कँडेलले उम्मेद्वारी घोषणा गरेका छन् । आज (बिहीबार) नारायणढमा पत्रकार सम्मेलन गरी उनीहरुले उम्मेद्वारी घोषणा गरेका हुन् ।

अध्यक्षका उम्मेद्वार ज्ञानेन्द्रमान शाक्यले व्यवसायीको चाहना र गोलाप्रथाको सिण्डिकेटका विरुद्ध आफूले उम्मेद्वारी घोषणा गरेको बताए । उनले भने–‘मतदान गर्ने योग्य व्यवसायीहरुको मतलाई बन्धक बनाएर लोकतान्त्रिक पद्धती भन्दा बाहिर गएर गोलाप्रथा जस्तो हाँस्यास्पद प्रक्रियाबाट नेतृत्व चयन हुनु आफैमा आश्चर्यजनक छ, गोलाप्रथा जस्तो हाँस्यास्पद प्रक्रियाको विरुद्धमा मेरो उम्मेद्वारी हो ।’

वर्तमान २०७४–७६ को कार्यकालमा उनी अध्यक्षको उम्मेद्वारी घोषणा गरेका थिए । पछि अध्यक्ष शहनलाल प्रधानलाई समर्थन गर्दै आफ्नो उम्मेद्वारी फिर्ता लिएका थिए । यसपटक कुनै हालतमा पनि उम्मेद्वारी फिर्ता नलिने शाक्यले स्पष्ट पारे ।

यस्तै पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपाध्यक्षका उम्मेद्वार विष्णुप्रसाद कँडेलले तीन हजार बढी व्यवसायीलाई गुमराहमा पार्ने काम गरेकोले आफ्नो उम्मेद्वारी घोषणा गरेको बताए । उनले गोलाप्रथाबाटै अध्यक्षको उम्मेद्वार टुंगो लगाएकै दिन आफूले उम्मेद्वारी घोषणा गरेको भन्दै अग्रज व्यक्तित्वको साथ लिएर चुनावी मैदानमा होमिन लागेको बताए । उनले मनोनयन दर्ताकै दिन सदस्यसम्मको प्यानल लिएर मनोनयन दर्ता गरिने स्पष्ट पारे ।

वरिष्ठ उपाध्यक्षका उम्मेद्वार कँडेल यसअघि संघमा विभिन्न पदमा रहेर काम गरेका थिए । उनी यसअघिको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा पराजित भएका थिए । यसपटक सबै व्यवसायीहरुको साथ र सहयोग लिएर निर्वाचनमा होमिएको कँडेलले बताए ।

उद्योग वाणिज्य संघ चितवनमा तीन हजार ७८२ जना मतदाता रहेका छन् । यसपटक अधिवेशनमा संस्थापन पक्षको छुट्टै प्यानल बन्दैछ । संस्थापन प्यानलबाट अध्यक्षमा राजु श्रेष्ठ र वरिष्ठ उपाध्यक्षमा चुननारायण श्रेष्ठ चुनावी मैदानमा उत्रिदै छन् ।

उद्योग वाणिज्य संघ चितवनको यही पुस २८ र २९ गते ५३ औं वार्षिक साधार सभा तथा अधिवेशन हुँदै छ । नयाँ नेतृत्वका लागि भोलिबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ ।