तमू जातिको चिनारी ‘‘रोधी’’

नेपाल एक बहुभाषा, बहुसस्कृति, बहुधर्मिक, बहुरितिरिवाज, परम्परा र पहिचानले भरिपुर्ण भएको मुलुक हो । त्यही विविध जाति मध्ये आफ्नै पहिचान र सांस्कृतिले भरिपुर्ण भएकोजाति तमु अर्थात गुरुङ्ग हो । मंगोलिया चीन र तिब्बत हुुदै क्होला सोथर हुदै नेपालमा आई बासोबास गरेको मुख्य जाति मध्ये तमू एक हो । विशेष गरि यो जाति अहिलेको संघिय संरचनमा अनुसर गण्डकी प्रदेशमा देख्न सकिन्छ । गण्डकी प्रदेशको राजधनीको वरीपरिका जिल्ला कास्की, तनहुँ, स्याङ्जा, पर्वत, लम्जुङ, मनाङ, मुस्ताङ र गोरखमा बक्लो रहेको देखिन्छ । अहिले विश्वव्यापीकरणको प्रभावले गर्दा विश्वका धेरै ठाउँमा तमू जातिको बासोबास रहेको देख्न सकिन्छ । विशेषत तमू जाति भन्ने वित्तिकै सामुहिक भाव भन्ने बुझिन्छ । तमू जातिको संस्कार र सस्कृतिको ईतिहास धेरै पुरानो भएको ईतिहासबाट जानकारी हुन्छ । गुरुङ्ग जातिको सामुहिकताको विशेषता बेग्लै र विशिष्ट खालको रहेको हुन्छ । त्यही विशेष खालको महत्वपुर्ण पक्षहरु मध्ये एक रोधीँलाई लिन सकिन्छ ।
रोधीँ र गुरुङ्ग जातिको घनिष्ट र अन्योन्याश्रित सम्बन्ध रहेको छ । परापुर्व कालमा रोधीँलाई गुरुङ्गको सम्पुर्ण बारेमा जानकारी लिने थलोको रुपमा लिने गरिन्थ्यो । रोधीँको बारे नेपाली र विदेशी विद्वानहरुले आफ्नै तरिकाले ब्याख्या र विश्लेषण गरेको देख्न सकिन्छ । हामी के दावाका साथ भन्न सक्छौ भने रोधीँ तमू जातिको एक सामाजिक संस्था हो भनेर ।
तमू जातिको लिखित ईतिहास नभए पनि मौलिक संस्कृतिले भरिपुर्ण र धनीजातिको रुपमा लिन सकिन्छ । आधुनिक समाजमा केही विद्वानहरुले अध्ययन, सोधखोज, चिन्तनमनन, अनुसन्धान र दस्तावेजीकरण गर्ने गरेको देख्न सकिन्छ तर पर्याप्त रुपमा हुन सकेको देखिदैन । अहिलेको आधुनिक समय र परिप्रेक्ष्यमा रोधीँको बारेमा विविध तरिकाले ब्याख्या र विश्लेषण गरेको देखिन्छ तर यसमा जुन परम्परा र मौलिक संस्कृति भन्दा फरक तरिकाले प्रमणित गर्न खोजेको देखिन्छ । यसमा एकरुपता ल्याउने र एकरुपता हुनु पर्नेे आवश्यकता रहेको देखिन्छ । अहिलो तमू जातिको मौलिक संस्कृतिमा आधारित संस्थालाई ब्यावसायीक र विभिन्न विक्रिती फैलाउने मध्यम र संस्थाको रुपमा लिन थालेको देखिन्छ । त्यो विल्कुलै गलत हो त्यसमा सजक र सचेत हुनु पर्ने हुन्छ । जसरी दोहीरी साझ र रेष्टुरेन्ट रोधीँको नामबाट चलेको देखिन्छ त्यो तमू जातिको रोधीँ भन्दा फरक पाटो हो यसमा होसियार हुनु पर्ने हुन्छ ।
रोधीँको ब्याख्या विशेष गरि ‘रो’ र ‘धीँ’ दुई ओटा शब्दको संयोजनबाट निर्माण भएको देखिन्छ । जस्तो ‘रो’को अर्थ तमू भाषामा धागो, सुत्ने र बुन्ने भन्ने हुन्छ । ‘रो’ लाई ‘रु‘ पनि भन्न सकिन्छ । भने ‘धीँ’ अर्थात ‘ती’ को अर्थ घर भन्ने हुन्छ । यसलाई हामी भन्न सक्छौ कि ‘रो’ र ‘धीँ’ दुई ओटा छुट्ट—छुट्टै स्वतन्त्र शब्दबाट रोधीँ शब्दको निमार्ण भएको देखिन्छ ।
रोधीँलाई तमू जातिको सामाजिक संस्थाको रुपमा मान्न सकिन्छ । विशेष गरि भौगोलिक बनावट र बासोबासको आधारमा रोधीँको ब्याख्या र विश्लेषण गरेता पनि सारमा अर्थ एउटै हुने गर्दछ । रोधीँमा विशेष गरि युवायुवतीहरु सहभागिता रहेको हुन्छ । विशेष गरि साँझपख खाना खाए पछि युवायुवतीहरु एक ठाँउमा भेला भएर थकाई मेट्ने, गीत गाउने, भोलीपल्टको कार्य योजना बनाउने स्थलको रुपमा प्रयोग गर्ने गर्दछ । ठाँउ अनुसर यसमा विभिन्न तरिकाले उल्लेख गरेको देखिन्छ । धेरै घनाबस्ती भएको ठाँउमा एक वा सो भन्दा बढी रोधीँ घरको स्थापना गर्ने गरेको ईतिहास देख्न सकिन्छ । धेरै जसो गाउँमा एउटा रोधी घरको स्थापना गरेको देखिन्छ । रोधीँ घर नभएको ठाँउमा सबैलाई पाएक पर्ने ठाउँमा बस्ने परम्परा रहेको देखिन्छ । राधीँ घरमा रोधीँ ‘बा’ र रोधीँ ‘आमा’ चुन्ने गरिन्थ्यो जसमा जो जेठोबाठो, कुराहरु सिकाउन जान्ने र समुहलाई नेतृत्व गर्न सक्नेलाई चुन्ने गरिन्थ्यो । जसको जिम्मेबारी रोधीँ घरमा मात्रै हुने गर्दथ्यो भने समग्र रोधीँलाई रेखदेख गर्ने गरिन्थ्यो ।
यस हेर्दा के भन्न सक्छौ भने रोधीँ भनेको तमू जातिको सांस्कृतिक पहिचानको एउटा धरोहर हो । कुनै बेला रोधी नबसेको मान्छे तमू नै होईन जस्तो गरि हेरिन्थो भने अहिले त्यो चलन हराई सकेको छ । त्यो समय र अहिलेको समय धेरै परिवर्तन भएको छ । अहिले रोधीँ बस्ने परम्परा लोप हुदै गएको देख्न सकिन्छ ।
रोधीँमा विशेषत नाता सम्बन्ध जोड्ने महत्वपुर्ण भुमिका खेल्ने गरेको विद्वानहरुको लेखमा देख्न सकिन्छ । जस्तो ङोलो ङोल्सो के नातापर्छ छुट्याउने कुटुम्ब अर्थात विवाहबरि चल्ने भए नाता जोडिदिने प्रचलन पनि रहेको देखिन्छ । यसको अबला सामाजिकिकरण गर्ने, प्रशिक्षण गर्ने, स्थानको रुपमा लिने गरिन्छ । हाँसखेल गर्ने, रमाईलो गर्ने, मनोरञ्जन गर्ने, विकृती विसंगति जोगाउन रोधीँ बस्ने चलन रहेको थियो । गीत गाउने, नाच्ने, सुख दुःखको कुराकानी गर्ने चलन थियो । युवायुवतीहरु विभिन्न उपनाम दिने गरिन्थ्यो । यसरी नै रोधीँमा गीत गाउने र सिकाउने गरिन्थ्यो । विशेषत झ्याउरे नाच, चुट्का, दोहोरी गीत र ढिलाभाकाको गीतहरु गउने प्रचलन रहेको थियो । यस समयमा गीत गाउदै परम्परागत मादल, बासुरी, झ्याम्टा जस्ता मौलिक बाजाको प्रयोग गर्ने गरिन्थ्यो । अहिलेको जस्तो म्युजिक र मोबाईलबाट गीत गाउने र बजाउने थिएन । मौलिक गीत र संगीतको मध्यमबाट सबै पक्षलाई समेट्ने काम रोधीँ संस्थाले गर्ने गर्दथ्यो । यसमा गीत गाउने क्रममा रातदिन नभनी गाउने प्रचलन रहेको बुढापाकहरुबाट सुन्न पाउछौ । यसमा कुटुम्ब नाता पर्ने भएका यसमा गीतकै मार्फत नाता जोडी विवाह गर्ने चलन रहेको देख्न सकिन्छ । अहिले पनि टिपिकल गुरुङ गाउँका बाजे बज्यैहरु सँग कुराकानी गर्दा मैले रोधीँबाट विवाह गरेको कुराको जनकारी हुन्छ ।
रोधी बसेर छुट्टिने समयमा मायाको चिनो साटासाट गर्ने गरिन्थ्यो । ङोल्सोहरुले अर्थात युवातीहरुले युवा अर्थात ङोलोहरुलाई रोधीँघरमा बुनेको भाङ्ग्रा अर्थात बख्खु उपहार दिने गरिन्थ्यो भने त्यसरी नै ङोलोे अर्थात युवाहरुले ङोल्सोहरुलाई क्रमु (गुरुङ्ग महिलाहरुले परम्परागत रुपमा ओढ्ने कपडा) किनेर दिने प्रचलन रहेको देखिन्छ । रोधीँ संस्थाले नै गुरुङ्ग जातिमा प्रचलित रहेको विभिन्न परम्परा र सांस्कृतिक मौलिक परम्परा पुटपुटे, घाटु, सोरठी र नाच गर्ने कार्यक्रममा गर्ने चलन रहेको देखिन्छ । विवाह र मृत्यु सांस्कृतिक र मेलाबजार समुहिक रुपमा यसै रोधीँ संस्थाले गर्ने गरेको देखिन्छ । यसरी विविध कार्यहरु यसै संस्थाले गर्ने भएकाले गुरुङ्ग र रोधीँ बिचमा एक अर्का बिचको परिपुरक रुपम रहेको देख्न सकिन्छ । यसको महत्व गुरुङ्ग समुदायमा निकै महत्वपुर्ण समाजिक संस्थाको रुपमा लिने गरिन्छ ।
प्छिल्लो समय गुरुङ्ग युवाहरु ब्रिटिस र भारतिय सेनाम भर्ती हुनु, आधुनिक शिक्षा प्रणाली विकास हुनु, विभिन्न विकासको प्रभावले गर्दा गुरुङ्ग जातिको मौलिक र सांस्कृतिक रोधीँ संस्था बिस्तारै लोप हुदै गएको देख्न सकिन्छ । यसमा आफ्ना पहिचान र परम्परालाई संरक्षण र जगेर्ना गर्नका लागि स्थापन भएका गुरुङ्ग सामाजिक संघ संस्था र सरोकार निकायले ध्यान दिनु पर्ने आवश्यकता रहेको देखिन्छ ।

 

सन्दर्भ सामग्री :
१. तमू डिल्लीजंग, (२०५६). तमू(गुरुङ्ग) जातिको पहिचानः काठमडौँ, नेपाल
२. मेकफर्नेल एलन (Allen Macfarlane ),(१९७६). साधन र जनसंख्या नेपाल गुरुङ्ग सम्बन्धी अध्ययन
३. गुरुङ्ग नारायण ल्हेँगे, (२०६८).तमू (गुरुङ्ग) जातिको चिनारीः आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठन, ललितपुर, नेपाल
४. थकालीहोम.(२०६७). तमू गुरुङ्ग जातिको उत्पति र धर्म—संस्कृतिः एम.एस अफसेट प्रेस, ललितपुर, नेपाल
५. रोधीँ सांस्कृतिक साहित्य २०७०, काठमाडौँ
६. तमू डिल्लीजंग,(२०७३). तमू इतिहासका पहिचान र जीवन अनुभव, जीवन प्रिन्टर्स प्रा.लि. नयाँबजार, काठमाडौँ, नेपाल
७. गुरुङ्ग कलाकार संघ स्मारिक —२, २०७०
८. Macfarlane,A.andGurung,I.B (1990).  A guide to the Gurungs.RatnaPustakBhandar, Kathmandu.