मुग्लिन, कुरिनटार बजार क्षेत्रको फोहोर राजमार्ग छेउमै जलाईन्छ, सरोकारवाला निकायद्वारा अनभिज्ञता प्रकट (फोटो र भिडियो सहित)

मुग्लिन, ५ मंसिर
आईतबार फिस्लिङ्ग बजारमा नेपाली सेनाका जवानको प्रहरी नियन्त्रणमा मृत्यु भएको काण्ड तातिरहदा मुग्लिन बजार नजिकै र कुरिनटार धारापानी छेउमा भने मुख्य राजमार्ग तातिरहेको थियो । राजमार्ग तातिनुको कारण भने अरु नभएर फोहोरमैला जलाएको कारण भएको थियो । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाको बजार क्षेत्रमा उत्पादन हुने फोहोरमैला प्राय बजार नजिकै मुख्य राजमार्गको छेउबाट त्रिशुली नदी किनारमा फाल्ने गरिन्छ । जसको कारण राजमार्गको छेउ दुर्गन्ध फैलिनुका साथै त्रिशुली नदी समेत फोहोर हुने गरेको छ । विषेश गरेर इच्छाकामना गाउँपालिकाको मुख्य बजार क्षेत्रहरु मुग्लिन, चेरेस, कुरिनटार र फिस्लिङ्गमा दैनिक अत्याधिक मात्रामा उत्पादन हुने गरेको छ । ती फोहोरहरु स्थानीय क्लव, समूह तथा टोल विकास संस्थाहरुले उठाएर बजार नजिकैको राजमार्ग छेउमा फालेर व्यवस्थापन गर्ने गरिएको छ ।

त्यस मध्ये मुग्लिन बजार नजिकै र कुरिनटारको धारापानी नजिकै फालिएको फोहोर आइतबार जलिरहेको अवस्थामा फेला परेको थियो । उक्त स्थानमाहरुमा मुग्लिन बजारबाट संकलन गरिएको फोहोर त्रिवेणी युवा क्लवले संकलन गरेर फ्याक्ने गरिएको छ भने कुरिनटारको फोहोर संकलन गरि कुरिन टोल विकाश संस्थाले कुरिनटारको धारापानी नजिकै फ्याक्ने गरिएको छ । उक्त दिन फोहोर जलेको पाईएपछि संम्बन्धित संस्थाका अध्यक्षहरुसँग कुराकानी गर्दा फोहोर जलेको प्रति अनविज्ञता प्रकट गरेका छन् । यस विषयमा कुरिन टोल विकास संस्थाका अध्यक्ष रुद्र उप्रेतीले पछिल्लो समय आफुहरुले फोहोरमैला धारापानीमा नफाल्ने गरिएको भन्दै उक्त स्थानमा फोहोर जलाईएको प्रति अनभिज्ञता प्रकट गरे । यस्तै त्रिवेणी युवा क्लवका अध्यक्ष मुक्ति कुमार श्रेष्ठले पनि फोहोर जलाएको विषयमा अनभिज्ञता जनाए । उता गाउँपालिका भित्र उत्पादन हुने फोहोरमैला व्यवस्थापन गर्नुपर्ने सम्बन्धित निकाय इच्छाकामना गाउँपालिकाले भने अझै पनि फोहोरमैला व्यवस्थित गर्न सकेको छैन । गाउँपालिकाले राजमार्गको बजार क्षेत्रमा उत्पादन हुने फोहोरमैला व्यवस्थित गर्नकै लागि भनेर कुरिनटारको त्रिशुली नदी किनारमा फोहोरमैला व्यवस्थापन केन्द्रको स्थापना समेत गरेको छ । तर उक्त केन्द्रको सञ्चालन अहिलेसम्म हुन सकेको छैन । यस विषयमा कुरा विविध कारणले फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालन हुनमा ढिलाई भएको भन्दै अब छिटो भन्दा छिटो सञ्चालनमा ल्याउने गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङले जानकारी दिए । ‘केहि प्राविधिक कुराहरु मिलाउन बाँकी छ त्यो काम सकिएपछि तुरुन्तै सञ्चालनमा आउछ’ –उनले भने । यस्तै केन्द्र सञ्चालनमा आउन सकेमा स्थानीय बजारबाट निस्कने फोहोर व्यवस्थित हुन सक्ने कुरामा स्थानीयहरु आशावादी छन् ।