आज महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै

काठमाण्डौ, १० कार्तिक
आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती । नेपाली साहित्यका विराट प्रतिभा महाकवि देवकोटाको आज १११ औँ जन्मजयन्ती मनाइँदैछ । महाकवि देवकोटाको जन्म वि.सं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको हो । दश वर्षको उमेरमा कविता लेख्न शुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्यमा उहाँका सयभन्दा बढी कृति छन् । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उहाँको सृजनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । तीन महीनामा ‘शाकुन्तल’ महाकाव्य, १० दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्नुभएका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने क्षमता समेत थियो ।