दाङमा बसको ठक्करबाट भाले मरेपछि चक्काजाम, क्षतिपूर्ती तिर्ने सहमतीमा बाटो खुल्यो

दाङ, ८ कार्तिक

दाङमा बसको ठक्करले कुखुराको भाले मरेपछि स्थानीयहरुले चक्काजाम गरेका छन्। उचित क्षतिपूर्तिको माग गर्दै तुलसीपुर उपमहानगरपालिका १४ लुहाडबरामा सडकमा ढुंगा, काठ, बाँस राखेर सडक अवरुद्ध पारेका हुन् । खैराहा कोठारी सडकखण्डमा चल्ने बसले स्थानीयको भाले मारेर भागेपछि बिहीबार दिउँसो केहीबेर स्थानीयले सडक अवरुद्ध पारेको प्रहरीले जानकारी दिएको छ ।

भालेलाई ठक्कर दिने बस क्षतिपूर्ति नदिइकन भागेपछि स्थानीय युवाहरुले झण्डै एकघण्टा सडकमा काठ तेर्साएर सडक अवरुद्ध पारेका थिए। बस व्यवसायी र पीडित पक्षबीच २ केजी भालेको १ हजार २ सय रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने सहमतिपछि सडक खुलेको छ ।