ओभेलमा परे “घाँसी र घाँसीकुवा” घाँसीको जन्मथलो र वंशज अझै पत्ता लागेन

भानु, ४ कार्तिक
आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको एकिकरण गरे । रामायणलाई नेपाली भाषामा अनुवाद गरी घरघरमा पढ्न सजिलो बनाएका आदिकवि भानुभक्तलाई धेरैले चिनेका छन् । यीनालाई यो प्रेरणा दिने श्रोतका रुपमा भने घाँसीलाई दिइने गरिन्छ। भर्जन्म घाँस तिर मन दिई धन कमायो, नाम क्यै रहोस् पछि भनेर कुवा खनायो घाँसी दरिद्र घरको तर बुद्धि कस्तो, मो भानुभक्त धनी भैकन किन आज यस्तो, मेरा इनार न त सत्तल पाटीकै छन, जे धन चीजहरू छन् घरभित्र नै छन् त्यस घाँसीले कसरी आज दिएछ अर्ती, धिक्कार हो मकन बस्नु नराखी कीर्ति। भानुभक्त आचार्यको ‘घाँसी’ शीर्षकको कविताको यो अंशले निकै चर्चा बटुल्ने गर्छ । कविताका पात्र घाँसीलाई घाँस काटेरै कुवा खनाउने समाजसेवीका रूपमा लिइन्छ। यीनै घाँसीको प्रेरणाबाट भानुभक्तले रामयणलाई नेपाली भाषामा अनुवाद गरी भाषिक एकिकरण गरेका थिए। मोतीराम भट्टका अनुसार भानुभक्तले ‘घाँसी’ कविता वि.सं. १८९१ मा लेखेका हुन् । कविता लेखिएकै एक सय ८५ वर्षभन्दा बढी भएछ । नेपाली पाठक यति लामो समयसम्म परिचयविहीन घाँसीको प्रशंसा गरिरहेका छन् । उनको सम्मानमा तनहुँको एउटा गाविसको नाम नै ‘घाँसीकुवा’ राखिएको थियो । अहिले यो गाविस व्यास नगरपालिकामा समायोजन भई वडा नं. ११ र १२ कायम भएको छ । तर, को हुन् ती घाँसी? तिनको परिचय के हो ? घर कहाँ हो ? भानुभक्तले यी प्रश्नको उत्तर कतै उल्लेख नगरिदिएका कारण समस्या पर्ने गरेको भानु–घाँसी स्मारक पार्क व्यवस्थापन समितिका अध्यक्ष तिर्थराज भट्टराई बताउँछन्। दमौलीबाट करिब पाँच किलोमिटर पूर्वतर्फ पृथ्वीराजमार्गसंगै ‘घाँसीकुवा’ लेखिएको बोर्ड देख्न सकिन्छ । सडकभन्दा केही तल बुल्दीखोला किनारामा भएको कुवा घाँसीले खनाएको मानिन्छ । त्यसको संरक्षणका लागि ‘घाँसीकुवा संरक्षण समिति’ पनि बनाइएको छ । सो समितिलाई समेत घाँसी को हुन् ? भन्ने जानकारी छैन । समिति अध्यक्ष भट्टराई भन्छन्, ‘घाँसीको परिचय हामीले पनि खोजिरहेका छौ । घाँसीकुवामा भानुभक्त पानी खान आएका थिए। त्यही भानु र घाँसीबीच वार्ता भएको थियो । घाँसीले बनाएको चौतारो पनि छ । यी सबै सूचनाको स्रोत मोतीराम भट्ट नै हुन् । यो भन्दा बढी सूचना छैन, उनको परिचय र घर हामी पनि खोजिरहेका छौँ ।’ घाँसीकुवाको पार्कमा राखिएको सालिक काल्पनिक भएको उनले बताए । घाँसी मगर वा रानाभाट हुने सम्भावना भने नभएको उनको भनाइ छ । भट्टराईले भने, ‘बाहुन हुन् भनौँ भने त्यतिबेला बाहुनले अरूको काम गर्न जाने चलन थिएन, मगर बस्ति यता छैन, छेउमा दराईहरू छन्, उनीहरू वनारस पढेर आएका भानुसँग तर्क गर्ने क्षमता राख्दैनथे।’ ‘भर्जन्म घाँस तिर मन दिई धन कमायो, नाम क्यै रहोस् पछि भनेर कुवा खनायो, घाँसी दरिद्र घरको तर बुद्धि कस्तो, ……।’ भानुभक्तले घाँसीलाई दरिद्र को संकेत गरेका कारण यहाँका स्थानीयले आफ्नो पुर्खा दरिद्र त थिए भन्ने देखाउन नचाहेकाले पनि घाँसीको जन्मथलो र वंश पत्ता लाग्न नसकेको अध्यक्ष भट्टराईको भनाई छ । यस्तै, भानुभक्त आचार्य र घाँसीको सम्झनामा दिवस र कार्यक्रम समेत गरिन्छ । तर, उनै आदिकविको प्रेरणा स्रोत घाँसीबारे धेरैलाई थाहा छैन । पृथ्वी राजमार्गमा पर्ने घाँसीकुवामा दैनिक सयौको संख्यामा मानिस घुम्न पुगे पनि उनीहरूले भानुभक्तकै तस्बिर खिचेर फर्कने गरेका छन् । सँगै रहेको घाँसीको सालिक र उनले खनेको कुवाबारे धेरैजना अनभिज्ञ छन् । विद्यालय तहको पाठ्यक्रममा घाँसीको बारेमा व्याख्या पनि गरिएको छैन । राष्ट्रिय विभूतिलाई चिनाउने प्रयास गर्नुपर्नेमा बिस्तारै पाठ्यक्रमबाट हटेका छन् । भानुभक्तीय रामायण, उनको जीवनी र घाँसीको योगदान बारेमा नयाँपुस्तामा चर्चा हुनुपर्ने हो तर हुन छाडेको छ । वर्षको एक दिन असार २९ गते भानुभक्त र घाँसीको स्मरण गर्ने बाहेक अन्य कार्यक्रम नहुने गरेको व्यास–१२ घाँसीकुवाकी सुशिला अछामी बताउँछिन् । ‘दैनिक राजमार्गमा गुड्ने सवारीले पनि पानी खाने, शौचालय र एकछिनको विश्रामका लागि घाँसीकुवामा रोकिने गर्छन । उनीहरूले कुवाकै पानी खान्छन्, पार्कमा घुम्छन् र फोटो खिचाउँछन्।’ व्यास–११ घाँसीकुवाका सम पन्थ भन्छन्, ‘तर, त्यसको महत्वबारे चासो दिइदैन् । राजमार्गसंगै जोडिएको र जग्गाको अभावका कारणले आवश्यक पूर्वाधार निर्माण गरी व्यवस्थित बनाउनुपर्नेमा त्यो पनि हुन सकेको छैन ।’ पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक खण्ड विस्तार गरिदै छ । सडक विस्तारसंगै अहिलेको भानु– घाँसी स्मारक पार्क पनि हटाउनु पर्ने अवस्था छ । अब कहाँ घाँसीको स्मारक पार्क निर्माण गर्ने भन्ने विषय अन्यौलता बढ्दै गएको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले बताउँछन् । प्रमुख वाग्ले भन्छन्, ‘तनहुँबासि र राज्यले आवश्यक ध्यान पु¥याउन नसक्दा घाँसीको प्रेरणा र भानुभक्त आचार्यको योग्दान ओझेलमा पर्दै गएको हो । यही घाँसीकुवा हुँदै ऐतिहासिक स्थल तनहुँसुर जाने गरिन्छ। न त घाँसीकुवाको प्रवद्र्धन हुन सकेको छ न त तनहुँसुरका ै।’ मुलुकमा तीन तहको सरकार छ । संघ, प्रदेश र स्थानीय सरकारले ऐतिहासिक स्थलहरुको आवश्यक पूर्वाधारहरु तयार गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न ध्यानु दिनुपर्ने र आफु पनि त्यसका लागि पहल गर्ने प्रमुख वाग्लेले बताए । हाल घाँसी पार्कसंगैको राजमार्ग क्षेत्रमा करिब ३० को हाराहारीमा होटल सञ्चालन गरिएका छन् । ऐतिहासिक स्थल तनहुँसुर दरबार जाने सडक पनि घाँसीकुवामै आएर जोडिएको छ । शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सहयोगमा घाँसीकुवामा सार्वजनिक शौचालय र वनभोजका लागि केही घर समेत बनाइएको छ। भानुभक्तको जन्मस्थलमा सरकारी विकास समिति गठन गरेर पूर्वाधार निर्माणको काम भइरहे पनि घाँसीकुवाबारे पहल भएको छैन । समितिले पनि घाँसीको परिवारको खोजी गर्ने र संरक्षणका लागि पहल गरेको छैन । दैनिक आउने पर्यटकलाई व्यवस्थित गर्न ५ रुपैयाँको टिकट मात्र व्यवस्था गर्न सके पनि हजारौं आयआर्जन गर्न सकिने अवस्था छ। नियमित सफाइ गरेर न्यूनतम शुल्क लिँदा पर्यटन क्षेत्रको रूपमा विकास गर्न सकिन्छ । सरकारी निकायले पनि घाँसीबारे चासो दिएको देखिदैन । भानुभक्तको पनातिसम्मको खोजी भएजस्तै घाँसीको सन्तानको पनि खोजी भएमा यसले अझै महत्व पाउने थियो तर, त्यो प्रभावकारी रुपमा हुन सकेको छैन ।
भञ्ज्याङ्ग दैनिकबाट