आँबुखैरेनी ढेडगाउँका प्रकाश गुरुङले चढे सगरमाथा हिमाल

गुरुङ आँबुखैरेनी गाउँपालिकाबाट सगरमाथा आरोहण गर्नेमा पहिलो

आँबुखेरेनी, ४ असार
यस वर्षको सगरमाथा आरोहणको सिजनमा आँबुखैरेनी गाउँपालिकाका एक जनाले पहिलो पल्ट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।
८ हजार ८ सय ४८ मिटरको विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेमा आँबुखैरेनी गाउँपालिका वडा नं. ६ ढेडगाउँका २७ वर्षिय प्रकाश गुरुङ हुन् । गुरुङले सगरमाथा आरोहण गरेसँगै तनहुँको आँबुखैरेनी गाउँपालिकाबाट सगरमाथा आरोहण गर्ने पहिलो आरोहि बन्न पुगेका छन् ।


उनले ३० मे २०१९ तारिख का दिन बेसक्याम्पबाट ७ घण्टा ३० मिनेट लगाएर सगरमाथा आरोहण गरेको आरोहि प्रकाश गुरुङले बताउनुभयो । ‘सफलता पूर्वक सगरमाथा ओरोहण गर्न पाउदै मलाई अत्यन्तै खुशी लागेको छ’ –उनले भने ।
गुरुङले सगरमाथा आरोहि हरुलाई आरोहण गराउने कम्पनी एक्सपिडिसन हिमालय कम्पनी मार्फत सफलता पुर्वक सगरमाथा हिमाल आरोहण गरेको हो । उनको टोलीमा रहेका १० जना आरोही सबैले सफलता पूर्वक हिमाल चढेको पनि आरोही गुरुङले बताए ।

को हुन् आरोही प्रकाश गुरुङ
आरोहि प्रकाश गुरुङ तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ६ ढेडगाउँ निवासी हुन् । ढेडगाउँमा २०४९ साल कार्तिक ७ गतेका दिन जन्मिएका गुरुङ बाबा मकन बहादुर गुरुङ र आमा कारीमाया गुरुङका कान्छा छोरा हुन् । उनका एक दाजु मिन बहादुर गुरुङ छन् । पेशाले माउण्टेन गाईड प्रकाश गुरुङ कुनै बेला लाहुरेमा भर्ति हुन गएका थिए ।

सन् २०१२ मा लाहुरेमा भर्ति हुन नसके पछि सन् २०१३ सालमा गोर्खा एड्भेञ्चर कम्पनीमा काम सिक्नका लागि गएका थिए । सोहि कम्पनीमा उनले माउन्टेन, बाई कायाकिङ, ट्रेकिङका कामहरु सिक्दै साना तिना हिमाल आरोहणहरु गर्न थाले । आरोहण कै क्रममा गुरुङले करिब आधा दर्जन भन्दा बढि साना तिना हिमाल आरोहण गरिसकेका थिए । पछिल्लो समय उनले ८ हजार ३ सय ६१ मिटरको मनास्लु हिमाल सफलता पूर्वक आरोहण गरेका थिए । यसैले पनि उनलाई सगरमाथा हिमाल आरोहण गर्न सहज भएको आरोहि गूरुङले बताउनुभयो ।