आँबुखैरेनीको एउटा यस्तो विद्यालय जहाँ विद्यार्थीलाई सजाय दिए शिक्षकको जागिर नै चैट हुन्छ

आँबुखैरेनी, १२ जेठ
सामुदायिक विद्यालय भन्ने वित्तिकै नियमित पढाई नहुने, भएपनि राम्रो पढाई नहुने, शिक्षक नियमित नआउने, फोहोर हुने यस्तै यस्तै कुराहरु तपाई हाम्रो मनमा आईहाल्छ । अनि निजि विद्यालय भन्ने वित्तिकै चिटिक्क परेको, विद्यार्थी मैत्री, पढाई राम्रो हुने भन्ने लाग्छ । तर धेरैलाई थाहा नभएको विद्यालय भित्रको कुरो कुनै पनि विद्यार्थी सफल असफल हुनुमा विद्यालयमा शैक्षिक सिकाईको वातावरण छ कि छैन । शिक्षकहरुले कसरी पढाई रहेका छन् । पढ्नलाई विद्यार्थाीलाई दबाब पो दिएको छ कि ? यस्ता कुरामा कसैको ध्यान पुगेको हुदैन जसका कारण विद्यार्थीको शिक्षण सिकाई कमजोर हुनुका साथै विद्यार्थीमा मनोवैज्ञानिक दबाब पुग्न सक्छ ।

यसैले तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा रहेको एक विद्यालयले भने शैक्षिक गुणस्तर वृद्विको लागि नौलो नौलो उपाए अपनाएर विद्यार्थीलाई सहज सिकाईको वातावरण सिर्जना गरिरहेको पाईएको छ । त्यो विद्यालयको नाम हो तनहुँ जिल्ला कै उत्कृष्ट नमुना विद्यालयहरु मध्य कै एक रामशाह मावि ।

उक्त विद्यालयले विद्यार्थीलाई भय रहित दवाव रहित वातावरणमा सिकाई गराउन नौलो तरिका अपनाएको छ । विद्यालयमा मन्टेश्वरी, नर्सरी, एलकेजी, युकेजी र कक्षा १–३ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई अध्ययनका लागि दवाव दिए वा कुनै पनि सजाए दिए शिक्षक शिक्षीकाहरुले जागिरबाटै हात धुनुपर्ने व्यवस्था गरेको छ ।

यति मात्र नभै शिक्षक शिक्षीका नियुक्ती गर्दा नै विद्यार्थीलाई दबाव वा सजाय नदिइ पढाउने र यदि त्यसो गरेको पाईएमा स्वत राजिनामा दिने शर्तमा शिक्षक शिक्षीका नियुक्ती गर्ने गरिएको विद्यालयका प्राध्यानाध्यापक प्रेम राज लामिछानेले बताउनुभयो । ‘हामीले सकेसम्म विद्यार्थीलाई खेल्दै, रमाउदै सहज रुपमा सिक्ने वातावरण बनाउने कुरामा प्रयासरत छौं’–उहाँले भन्नुभयो ।

यसले विद्यालयको शैक्षिण गुणस्तरमा थप वृद्वि हुने अपेक्षा गरेको पनि प्र्रध्यानाध्यापक लामिछानेले बताउनुभयो । लामिछानेका अनुसार अहिले विद्यालयको ३ कक्षासम्म पढाई हुने हरेक कक्षा कोठामा मिनि लाईबेरी, वातावरणनुकुल कोठा, सफा खानेपानी व्यवस्था, सिंगल सिटर बेन्चको व्यवस्था गरिरहेको छ भने साना कक्षा पढाईहुने प्रत्येक कक्षाकोठामा अन्यबाट अनावश्यक डिस्टर्व नहोस भनेर रेलिङ वार लगाईएको छ ।

सकेसम्म विद्यार्थीलाई होमवर्क समेत नदिने वातावरण गराउने तयारीमा विद्यालय छ तर होमवर्क नदिदा अभिभावकमा नकरात्मक सन्देश जाने परिपाटि भएकोले यो व्यवस्था गर्न भने विद्यालयलाई अलि गाह्रो भैरहेको उहाँले बताउनुभयो ।

यस्तै विद्यालयमा कार्यरत शिक्षक शिक्षीकाले अनिवार्य रुपमा आफ्नो छोराछोरी सोहि विद्यालयमा नै पढाउनु पर्ने बनाएको छ । यदि त्यसो नभएमा उक्त शिक्षकले स्थायी दरवन्दीमा भए ६ महिना भित्र सरुवा हुनुपर्ने र करारमा भए जागिरबाटै हात धुनुपर्ने व्यवस्था गराइएको पनि प्र्रध्यानाध्यापक लामिछानेले बताउनुभयो । ‘जसले गर्दा विद्यालयको शैक्षिक गुणस्तरमा शिक्षकले जिम्मेवारी पूर्वक भूमिका निर्वाह गर्ने देखिन्छ’ –उहाँले भन्नुभयो ।

स्मरण रहोस् आँबुखैरेनीमा रहेको रामशाह मावि जिल्लाकै उत्कृष्ट विद्यालयहरुमा पर्छ । कक्षा ९ देखि १२ सम्म प्राविधिक शिक्षा सिभिल इन्जिनियरिङको पढाई हुने विद्यालयमा करिब १४ सय विद्यार्थीले अध्ययन गर्छन् ।