आँबुखैरेनी बजारमा सिसी क्यामरा जडान

ईच्छाकामना न्युज
आँबुखैरेनी, ८ साउन
विभिन्न संघ संस्थाको आर्थिक सहयोगमा आँबुखैरेनी बजारको सुरक्षालाई मध्यनजर गर्दै अत्याधुनिक नाइटभिजन सिसी क्यामरा जडान गरिएको छ । आँबुखैरेनी मुख्य बजारको उत्तरतर्फ मस्र्याङ्गदी नदी पुल देखि पूर्वतर्फ ट्राफिक प्रहरीपोष्ट देखि पश्चीम आँबुखैरेनी गाउपालिकाको कार्यालय क्षेत्र निगरानीमा रहने गरी १७ थान अत्याधुनिक नाइटभिजन सिसी क्यामरा जडान गर्ने कार्य सकिएको छ ।
३२ च्यानल क्षमता भएको डिभी आर सेट गरिएको भएपनि आर्थिक अभावको कारणले हाल १७ थान मात्र जडान गरिएको छ । तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी ईकाइले २ लाख १५ हजार, मिलनचोक टोल सुधार समिति, चिसापानी टोल सुधार समिति, सिद्धिगणेश टोल सुधार समिति, आँबुखैरेनी चोक टोल सुधार समिति, बिचबजार टोल सुधार समिति, डाँडाटोल टोल सुधार समिति एवं मनकामना टोल सुधार समितिले प्रति टोल सुधार समिति ५० हजार र साँझेदारी लगानी स्वरुप आँबुखैरेनी गाँउपालिकाले ६ लाख (कन्सल्टेन्सी कट्टी गर्दा ५ लाख ३० हजार) गरी करिब १२ लाखको लागतमा सि.सी. क्यामेरा जडान गरिएको उद्योग वाणिज्य संघ आँबुखैरेनी ईकाइका सभापति कृष्ण गाङ्गदाङ्गले बताए । थप स्थानमा क्यामेरा जडान गर्न र नपुग रकम पुर्ती गर्नको लागि अन्य संघसंस्थाहरुसँग सहयोगको अपेक्षा गरिएको पनि उनको भनाइ रहेको छ । विगतमा उद्योग वाणिज्य संघ आँबुखैरेनी इकाइ र इलाका प्रहरी कार्यालय आँबुखैरेनीको लगानीमा एवं पहलमा ५ थान क्यामेरा जडान गरिएको भएता पनि उत्तः क्यामेरा बिग्रीएकोले निकै प्रयास पछि हाल नयाँ क्यामरा जडान गर्न सफल भएको सभापति गाङ्गदाङ्गले बताए । क्यामेराको स्क्रीन इलाका प्रहरी कार्यालयको प्रहरी कन्ट्रोल र आँबुखैरेनी गाँउपालिका प्रमुखको कार्यकक्षमा राखिएको कुरा ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी प्रमुख प्रहरी निरिक्षक सन्तोष रोकाले बताए ।
क्यामेरा जडान पछि ट्राफिक दुर्घटना, एवं अन्य आपराधिक कृयाकलाप न्यनिकरण हुने पनि उनको भनाई रहेको छ ।