नमुना विद्यालय बन्ने अभियानमा मुग्लिनको त्रिवेणी बराह मावि

चित्र बहादुर गुरुङ/ईच्छाकामना न्युज
मुग्लिन, ३२ असार
भारत सरकारको सहयोगमा स्थापना गरिएको आकर्षक भव्य भवन, आधुनिक प्रविधि मैत्री कम्प्युटर ल्याव, शिशु तथा बालशिक्षाको लागि रमाईलो खेलकुद सामाग्री सहितको छुट्टै कक्षाकोठा, विद्यार्थीहरुको लागि टाईसुट, हेर्दा कुनै निजी विद्यालय हो कि जस्तो अनुभुति हुनसक्छ । तर हैन यो विद्यालय हो, चितवनको एकमात्र गाँउपालिका ईच्छाकामनाको वार्ड नं. ५ मा रहेको देशको केन्द्रीय राजधानी प्रवेश गर्ने लाईफ लाईनमा पर्ने चर्चित बजार मुग्लिन बजारमा रहेको त्रिवेणी बराह माविको । वि.सं. २०३१ सालमा तात्कालिन राष्ट्रिय प्राथमिक विद्यालय तामिनको शाखा विद्यालयको रुपमा स्थापना भएको यो विद्यालय ७० सालको दशकसम्म निकै कष्टप्रद रुपमा पठन पाठन हुदै आएको विद्यालयका प्राध्यानाध्यापक युवराज लामा बताउनुहुन्छ । मुग्लिन–पोखरा–नारायणगढ सडक निर्माणको बेला मजदुर बस्नको लागि चाईनिज ठेकेदारहरुले तात्कालिन अवस्थामा बनाएको बिटुमिन ड्रमको पाताले छाएको भवनमै झण्डै ४ दशक विधालय सञ्चालन भयो । त्यो बेला विद्यालयमा गर्मीयाममा दिउँसो र वर्षायाममा पठनपाठन गर्नै नसकिने अवस्था भएको प्रध्यानाध्यापक लामा बताउछन् । उहाँ भन्नुहुन्छ, “त्यो बेला दिउँसो अत्याधिक गर्मी हुने हुदाँ बिहानी कक्षा सञ्चालन गर्नुपथ्र्यो भने वर्षायाममा पानी पर्दा छानो चुहिने भएर पानी चुहिदा विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आउथ्यो ।”

विद्यालय व्यवस्थापन समितिमा राजनैतिक दलको जुहारी, शिक्षकहरुमा कमजोर जिम्मेवारीपनाका कारण विद्यालयको भौतिक अवस्था लथालिङ्ग भताभुङ्ग हुनुका साथै शैक्षिक गुणस्तर अत्यन्तै कमजोर अवस्थामा रहेको थियो । अहिले ८० को दशकको सुरुवात सँगै विद्यालयले मुहार फेर्दै गएको छ । लामो समयसम्म जीर्ण भवनमा कष्टप्रद रुपमा विद्यालय सञ्चालन हुदै आएको देखिएपछि मनकामना दर्शन प्रा.लि.का संस्थापक स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठको विशेष पहलमा वि.सं. २०६९ सालमा भारतिय दुतावासले नयाँ अत्याधुनिक भवन निर्माण सुरु गरि वि.सं. २०७२ सालमा निर्माण सम्पन्न गरिदिए पश्चात विधालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावकहरुमा पनि उत्साह जाग्न थाले सँगै विद्यालयको स्वरुप परिवर्तन हुन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण गुरुङ बताउछन् । पछिल्लो समय विद्यालयको भौतिक संरचना मात्र नभै शैक्षिक गुणस्तरमा समेत परिवर्तन देखिन थालेको छ । जसको परिणाम पछिल्लो शैक्षिक सत्रको एसइई नतिजामा ए ग्रेड सम्म ल्याएका छन् । विद्यालय अहिले प्राविधिक धारतर्फ विद्यालयस्तरमा कम्प्युटर ईन्जिनियरिङको पढाई हुने जिल्ला कै एकमात्र र पहिलो विद्यालयको रुपमा स्थापित भएको छ । वि.सं. २०७३ सालमा सरकारको १ निर्वाचन क्षेत्र १ प्राविधिक विद्यालय खोल्ने अवधारणा अन्तर्गत त्रिवेणी बराह माविले सञ्चालन अनुमति लिई कक्षा ९ र १० मा कम्प्युटर ईन्जिनियरिङ्गको पढाई सञ्चालन गरिरहेको छ । यति मात्र नभै कक्षा सम्म अंग्रेजी माध्यममा पठनपाठन हुन्छ भने यसै शैक्षिक सत्रदेखि विद्यालयले प्राविधीक धार तर्फ कम्प्युटर ईन्जिनियरिङ्ग र साधारण धारतर्फ शिक्षाशास्त्र संकायमा ११ कक्षाको पठनपाठन समेत सञ्चालन सुरु गरिएको छ । आगामी केहि वर्ष भित्र सम्पूर्ण कक्षाहरु अंग्रेजी माध्ययमा पठनपाठन गर्ने, विद्यालयलाई थप आधुनिक प्रविधि मैत्री बनाउन स्मार्ट स्कुलको अवधारणा लागु गर्ने लगायतका कार्यहरु गरेर विद्यालयमा गाँउपालिका भित्र मात्रै नभै प्रदेश कै नमुना विद्यालयहरुको सूचि भित्र पार्न आफुहरु लागि पर्ने प्राध्यानाध्यापक लामा बताउछन् ।