अब तनहुँको आँबुखैरेनीमा नै बन्ने भो नेपाल कै अग्लो झोलुङ्गे पुल

ईन्द्रमान परियार/इच्छाकामना न्युज
आँबुखैरेनी, ६ असार
तनहुँको आँबुखैरेनी गाँउपालिका वार्ड नं. १ स्थित समस्तीपुर र याङ्गचोक बरडाँडा जोड्ने खुदी खोलामा नेपाल कै सबैभन्दा अग्लो झोलुङ्गे पुलको निर्माण हुने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय पुर्वाधार विकाश तथा कृषि सडक विभाग अन्तरगर्त सस्पेन्सन वृज डिभीजन आयोजनामा छनौट भएको योजना अन्तरगत विस्तृत सर्वेक्षणको लागि ग्लोवल देव कन्सलटेन्सीलाई जिम्मेवारी दिएको र सर्वेक्षणको सम्पूर्ण कार्य पुरा भएपछि लागत इष्टीमेट सहित टेण्डर आह्वान गरीने कुरा सस्पेन्सन वृज डिभीजन झोलुङ्गे पुल शाखाका सव ईन्जिनियर गोपाल बहादुर थापाले जनाए ।

कन्सल्टेन्सीका ओभरसीयर हेमराज शर्माका अनुसार उक्त झोलुङ्गे पुलको लम्बाई २१७ मीटर र उचाई २७५ मिटर रहनेछ । हालसम्म निर्माण भएका मध्ये पर्वत कुश्मामा निर्मित झोलुङ्गेपुलको उचाई १६६ मिटर र लम्वाई ३४६ रहेको छ । यो अनुसार समस्तीपुरमा बन्न लागेको झोलुङ्गे पुलको उचाई कुश्माको भन्दा १०९ मिटर अग्लो हुनेछ । यस हिसाबले यो पुल निर्माण पश्चात नेपालकै सबैभन्दा अग्लो झोलुङ्गे पुलको रुपमा दर्ज हुनेछ । हाल यो पुलको सर्वेक्षणको काम सकिएको छ तर सर्वेक्षणको प्रतिवेदन भने संम्बन्धित निकायमा बुझाईसकिएको छैन ।


झोलुङ्गेपुलको निर्माण सम्पन्न भए पश्चात समस्तीपुर र याङ्गचोक रानागाँउको दुरी घट्न गई विधार्थीहरुको पठन पाठनमा सुविधा हुनुका साथै आवत जावत दैनिक क्रियाकलापको लागि स्थानीयवासीलाई सहज हुने र यस क्षेत्रको रमणीय दृश्यावलोकन गर्न, नजीकै तारे रहमा रहेको चमेरो ओडारको प्रचार प्रसार गर्न सके आन्तरीक तथा बाह्य पर्यटकलाई भित्र्याउन सकिने स्थानीय सुर्य बहादुर गौलीले बताए ।

स्थानीयवासी ईश्वरबाबु गोलीको संयोजकत्वमा गठन भएको ९ सदस्यीय याङ्गचोक वरडाँडा समस्तीपुर झोलुङ्गे पुल निर्माण उपभोक्ता समितीको पहलमा लाभान्वित वडावासीहरुमा व्यापक छलफल भइ वडा कार्यालयको सिफारिस सहितको निवेदन गत २०७४ साल श्रावण १६ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय पुर्वाधार विकाश तथा कृषि सडक विभाग सस्पेन्सन वृज डिभिजन कार्यालय पुल्चोक ललितपुरमा दर्ता गरी निरन्तर पहल गरे पश्चात उक्त योजना छनौट हुन सफल भएको संयोजक गौलीले बताए ।